

काठमाडौँ : विनाशकारी बाढीबाट उत्पन्न विपद्को सामना गर्न अन्तर्राष्ट्रिय समुदायले तीव्र सक्रियता देखाएका छन्। छिमेकी मुलुक भारत, चीन तथा विश्व बैंकले तत्कालै राहत, उद्धार र पुनर्निर्माणका लागि मोटो रकम र सामग्री सहयोगको प्रतिबद्धता जनाएका हुन्।
मन्त्रिपरिषद्को आजको बैठकले रसुवा, नुवाकोट र धादिङका बाढीप्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेसँगै बाह्य सहायता जुटाउने कानुनी बाटो खुलेको छ। समाचार बाहिरिएलगत्तै विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर आपत्कालीन रूपमा २५ अर्ब रुपैयाँसम्मको सहयोग उपलब्ध गराउन सकिने प्रतिबद्धता जनाइसकेका छन्।
उता दक्षिणी छिमेकी भारतले राहत सामग्रीको सूची माग्दै आजै काठमाडौँ सामान पठाउने तयारी गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए। उत्तरी छिमेकी चीनले पनि तत्कालै नगद सहयोग उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ। दातृ निकाय र छिमेकीको यो उदार सहयोगप्रति अर्थमन्त्री वाग्लेले आभार व्यक्त गर्दै अन्तर(सरकारी समन्वय र सहायता मोडालिटीबारे छलफल तीव्र पारिएको बताएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |