

चितवन : रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शवलाई देवघाटमा जमिनमुनि गाडेर व्यवस्थापन गरिने भएको छ । सङ्कलन गरिएका २ सय ३३ मध्ये पहिचान भएका ४ बाहेक बाँकी शवहरू अत्यधिक सडेगलेको र महामारी फैलिने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले यस्तो निर्णय गरेको हो ।
नदी तटीय क्षेत्र र होल्डिङ सेन्टरबाट उठाइएका शव र अवशेषहरू कुहिएर दुर्गन्ध फैलिएपछि स्वास्थ्य विज्ञहरूले सङ्क्रमणको चेतावनी दिएका थिए । सोही विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिको बैठकले ुबेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३ु बमोजिम भरतपुर–१ स्थित देवघाटको खुला स्थानमा शव गाड्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
भविष्यमा आफन्तले दाबी गरेमा पहिचान सहज बनाउन सबै शवको डिएनए नमूना र सङ्केत नम्बरसहितको विस्तृत अभिलेख सुरक्षित राखिनेछ । कानुनी र स्वास्थ्यगत बाध्यताका कारण शवहरू गाड्नुपरेको भन्दै प्रशासनले पीडित परिवारजनमा पर्न गएको असुविधाप्रति क्षमायाचना मागेको छ ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |