

काठमाडौं : रसुवालगायतका क्षेत्रमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि त्यसलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाने भएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह असोज ६ गते अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको असोज ६ देखि १० गतेसम्मको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
यसअघि महासभामा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने तयारी थियो। तर रसुवामा आएको बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि जलवायु परिवर्तन र त्यसबाट नेपालले भोगिरहेको विपद्का विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रधानमन्त्री स्वयं जाने निर्णय भएको हो।
महासभाका क्रममा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या, विपद् जोखिम न्यूनीकरण तथा जलवायुजन्य क्षतिका विषयमा नेपालको धारणा राख्ने तयारी छ। सरकारले नेपालको जलवायु जोखिम र प्रभावित मुलुकले पाउनुपर्ने अन्तर्राष्ट्रिय सहयोगबारे समेत जोड दिने जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |