काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महिलामाथि अवाञ्छित व्यवहार र आर्थिक लेनदेनको आरोप लागेका आफ्ना प्रतिनिधि सभा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु गर्दै औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ।
पार्टी महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार महिलाको मर्यादामा आँच पुर्याउने कार्य, अनुचित दबाब, धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनका विषय सार्वजनिक भएपछि छानबिन थालिएको हो। फौजदारी कसुर र पदीय मर्यादा उल्लङ्घनमा ुशून्य सहनशीलताुको नीति लिएको रास्वपाले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिइसकेको छ।
अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका लागि छानबिन नसकिँदासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको छ। रास्वपाले कानुनभन्दा माथि कोही नहुने स्पष्ट पार्दै कानुनी अनुसन्धानमा पूर्ण सहयोग गर्ने र निष्पक्ष छानबिनपछि विधानबमोजिम कदम चालिने जनाएको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |