काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारद्वारा सञ्चालित विभिन्न भ्रष्टाचार तथा अनियमितताका प्रकरणहरूको अनुसन्धान निष्पक्ष हुनेमा आशंका गरेका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अनुसन्धान प्रक्रियाको शैली र नियतमाथि शङ्का व्यक्त गरेका हुन्।
सार्वजनिक भएका सबै प्रकरणको सूक्ष्म छानबिन हुनुपर्ने र त्यसमा पार्टीको पूर्ण समर्थन रहने स्पष्ट पार्दै उनले अनुसन्धानको निष्पक्षतामा भने विश्वास गर्ने आधार नरहेको बताए। सरकारले अनुसन्धानका क्रममा केही सूचना बाहिर ल्याएर सर्वसाधारणको प्रतिक्रिया (पब्लिक रियाक्सन) बुझ्ने र त्यसैका आधारमा अघि बढ्ने प्रवृत्ति देखाएको थापाको आरोप छ।
‘प्रकरणहरू सार्वजनिक भएका छन्, सबै केलाइयोस्, हाम्रो पूर्ण साथ र समर्थन रहन्छ। तर अनुसन्धान निष्पक्ष हुन्छ भन्नेमा हाम्रो मुख्य प्रश्न छ’, थापाले भने, ‘अनुसन्धानका क्रममा केही विषय बाहिर ल्याउने, अनि नागरिकको प्रतिक्रिया के आउँछ भनेर हेर्ने शैलीले कसरी निष्पक्ष अनुसन्धान हुन सक्छ ‘ उनले राजनीतिक पूर्वाग्रहमुक्त भएर छानबिन अघि बढाउन सरकारलाई आग्रहसमेत गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |