काठमाडौं : महिला टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटअन्तर्गत युएईलाई पराजित गर्दै नेपालले पहिलोपटक ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ। सोमबार मलेसियामा सम्पन्न सुपर–३ अन्तर्गतको खेलमा नेपालले युएईलाई ५ विकेटले हराउँदै एक खेल अगावै शीर्ष दुईमा स्थान बनाउँदै ग्लोबल छनोटमा प्रबेश गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो। युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् भने तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रनको योगदान दिइन्। नेपालका लागि मनिषा कुमारी उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट हात पारिन्। यस्तै, कविता कुँवरले २ विकेट र राजमती ऐरीले १ विकेट लिइन्।
११५ रनको लक्ष्य पछ्याएको नेपालले १९।३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। नेपालका लागि कप्तान इन्दु बर्माले कप्तानी पारी खेल्दै २८ बलमा अविजित ३० रन बनाइन्। रुविना क्षेत्रीले २३ रन र सम्झना खड्काले २१ रन बनाए। ६४ रनको अवस्थामा ४ विकेट गुमाएको नेपाललाई इन्दु र रुविनाले सन्तुलनमा ल्याउँदै जितसम्म पुर्याएका थिए।
अब नेपालले सुपर–३ को अन्तिम खेल मंगलबार थाइल्याण्डसँग खेल्नेछ। थाइल्याण्डले पनि युएईलाई हराउँदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ।