काठमाडौं : उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति केवल पद, झण्डा वा प्रचारको माध्यम नभई जनताको सेवा गर्ने जिम्मेवारीपूर्ण माध्यम भएको स्पष्ट पारेका छन्।
शनिबार काठमाडौं–१ मा अवस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयको ६४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार र जनजीविकाको संवेदनशील विषयमा प्रतिनिधिहरूको सक्रियता अनिवार्य भएको बताए। सिंहले हालको शिक्षा प्रणालीले शैक्षिक बेरोजगारी बढाएको भन्दै विद्यालयहरूले अब सिर्फ प्रमाणपत्र होइन, सीप पनि दिने व्यवस्था गर्नुपर्ने धारणा राखे।
आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने विद्यालयमा विकास कार्यमा आफू र अन्य प्रतिनिधिको भूमिका स्मरण गर्दै सिंहले भने, “०६४ साल अघि र अहिलेको अवस्था तुलना गर्न सकिन्छ। अब जनप्रतिनिधिहरूले विकासलाई गति दिनुपर्छ।” उनले क्षेत्रीय विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारमा केन्द्रित पहलकदमी आवश्यक रहेको बताए।
संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि जनताको बलिदान स्मरण गर्दै सिंहले भने, “यो व्यवस्था कसैको दया या उपकारबाट आएको होइन। प्राप्त उपलब्धिलाई जन–सरकारको सहकार्यमा संस्थागत गर्नुपर्छ।” उनले सरकार नागरिकको जीवन र जीविका सहज बनाउने दिशामा काम गरिरहेको बताए।