काभ्रे : बजेट मात्र होइन, यो योजनाको थुप्रो हो-जसले खानीखोलाको सामाजिक र आर्थिक बनोटलाई नै फेरिदिने सम्भावना बोकेको छ। गाउँपालिकाको १७औं गाउँसभाले पारित गरेको ५२ करोड २३ लाख रुपैयाँ बराबरको बजेट सामाजिक न्यायदेखि स्वास्थ्य सुधार, शिक्षा, औद्योगिकीकरण र उद्यमशीलता प्रवर्द्धनसम्म सबै तहमा परिवर्तन ल्याउने योजनासहित अघि बढाइएको छ।
‘झण्डा र अण्डा’ : मातृत्वलाई सम्मान
गर्भवती महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले ‘झण्डा र अण्डा कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। यस कार्यक्रमअन्तर्गत प्रत्येक गर्भवती महिलालाई १० क्रेट अण्डा निःशुल्क उपलब्ध गराउने लक्ष्य छ । त्यस्तै, आङ खसेका महिलाहरूको शल्यक्रियामा ५,००० रुपैयाँ बराबरको राहत दिने व्यवस्था गरिएको छ। यो योजना खानीखोलाको मातृत्व स्वास्थ्य सुधारतर्फको प्रयास हो।
‘जसको उत्पादन, उसैलाई अनुदान’
गाउँपालिकाले कृषिमा आधारित स्थानीय उत्पादनमा नयाँ गति ल्याउने योजना अघि सारेको छ। कफी उत्पादनमा प्रतिकिलो ३५ रुपैयाँ अनुदान दिने, खुवा र बेलको जुसजस्ता उत्पादनहरूलाई स्थानीय ब्रान्डमार्फत बजारमा उतार्ने रणनीति बनाइएको छ। कोदोको रक्सी जस्ता परम्परागत उत्पादनलाई पनि प्रशोधन र व्यवसायिक बनाउने योजना छ। स्थानीय उद्योगको जग यसैमार्फत सुदृढ बनाउने विश्वास गाउँपालिकाको छ।
शिक्षासँगै उद्यमशीलता
सातै वडामा सामुदायिक अध्ययन केन्द्र स्थापना गरिने योजना छ, जसले शिक्षा मात्र होइन, उद्यमशीलताको पाठ पढाउनेछ। तालिम, ज्ञान र सीपको संयोजनमार्फत युवा वर्गलाई स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य लिइएको छ।
उत्कृष्ट सेवामा सम्मान
गाउँपालिकाले परिश्रमी जनप्रतिनिधि र कर्मचारीलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिएको छ। यसपटक वडा नम्बर १ का अध्यक्ष सन्तमान थिङसहित सात जनालाई सम्मान गरिएको छ। यो अभ्यासले प्रशासनिक दक्षता र उत्तरदायित्व थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।