काठमाडौं : दक्षिण कोरियाको केही भागमा बिहीबार परेको मुसलधारे वर्षाले सय वर्षकै उच्च रेकर्ड तोडेपछि बाढी र पहिरोले जनजीवन प्रभावित भएको छ।
मौसम एजेन्सीका अनुसार दक्षिण चुङचेओङ प्रान्तको सिओसन क्षेत्रमा ११४.९ मिलिमिटर वर्षा प्रतिघण्टा मापन गरिएको हो, जुन सन् १९०४ यता कै उच्च दर भएको बिबिसीले जनाएको छ । अत्यधिक ओसिलो हावाले वायुमण्डलीय अस्थिरता निम्त्याउँदा मनसुनी वर्षा तीव्र भएको बताइएको छ।
बाढीका कारण बजार, आवासीय क्षेत्र र सवारीसाधन डुबानमा परेका छन्। ओसान शहरमा भित्तो भत्किँदा एक चालकको ज्यान गएको छ भने चुङचेओङमा पहिरोपछि दुईजनाको उद्धार गरिएको छ। बाढीको जोखिम बढेपछि होङसेओङ काउन्टीका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आदेश दिइएको छ। विद्यालय तथा बालबालिका केन्द्रहरू बन्द गरिएका छन्।