


काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ। मतदान सम्पन्न नहुँदासम्म लागू रहने यस अवधिमा कुनै पनि दल वा उम्मेदवारले प्रचारप्रसार गर्न, मत माग्न वा पक्ष–विपक्षमा अभिव्यक्ति दिन पाउने छैनन्। निर्वाचन आचारसंहिताअनुसार प्रचार सामग्री हटाउनुपर्ने र कुनै पनि माध्यमबाट मतदाता प्रभावित पार्ने गतिविधि गर्न नहुने व्यवस्था छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया, कार्यशाला तथा गोष्ठी जस्ता कार्यक्रम गर्न पाइँदैन। सामाजिक सञ्जाल, अनलाइन वा छापा माध्यमबाट समेत प्रचारप्रसार गर्न रोक लगाइएको छ।
मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित दल तथा उम्मेदवारलाई निर्देशन दिइने आयोगले जनाएको छ। शान्त र स्वच्छ वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यले मौन अवधिको व्यवस्था गरिएको हो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |