


काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय बजारमा सुधारसँगै पेट्रोलियम पदार्थको मूल्य केही समयभित्रै घट्ने बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले मध्यपूर्वमा उत्पन्न तनावका कारण बढेको इन्धनको मूल्य अब क्रमशः समायोजन हुने बताएका हुन् ।
वाग्लेका अनुसार सरकार गठन भएको दुई साताभित्रै उपभोक्तामाथिको भार कम गर्न कानुनी व्यवस्थाअनुसार डिजेल, पेट्रोल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा डिजेल र पेट्रोलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिइएको थियो। त्यस निर्णयले मूल्यवृद्धिको असर केही हदसम्म न्यूनीकरण गर्न सहयोग पुगेको उनको दाबी थियो।
उनले अहिले मध्यपूर्वको अवस्था क्रमशः सामान्य बन्दै गएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेको उल्लेख गरे। नेपालले भारतीय आयल निगममार्फत इन्धन आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय मूल्यको प्रभाव यहाँ आइपुग्न केही समय लाग्ने उनले बताए। त्यसपछि स्वचालित मूल्य समायोजन प्रक्रियाअनुसार पेट्रोलियम पदार्थको मूल्य घट्ने उनको भनाइ थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |