काठमाडौं : ई-७ भिसामार्फत नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने प्रक्रिया हाललाई रोकिएको छ।
वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० लागू नगर्ने स्पष्ट पारेको छ। विभागका अनुसार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट कार्यविधि कार्यान्वयन नगर्न निर्देशन प्राप्त भएपछि ई–७ भिसाको प्रक्रिया तत्कालका लागि स्थगन गरिएको हो।
हाल कोरिया जाने नेपाली श्रमिकहरू रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत जान पाउने व्यवस्था यथावत् रहेको विभागले जनाएको छ। ई–७ भिसामार्फत सीपयुक्त कामदारलाई कारखाना, निर्माण, कृषि, सेवा लगायतका क्षेत्रमा स्थायी रूपमा काम गर्न पठाउने योजना थियो। तर, प्रक्रिया अघि नबढ्ने भएपछि अब ईपीएस नै एकमात्र वैधानिक बाटो बाँकी रहेको छ।