


काठमाडौं : लेखक नन्दराज जोशी (नन्दराज मानव प्रकृति) ले करिब एक दशकभन्दा लामो समयको अध्ययन, अनुसन्धान र अभ्यासपछि तयार पारेको पुस्तक ‘गतिशील भौतिकवाद’ पछिल्लो समय पाठकमाझ लोकप्रिय बन्दै गएको छ।
पुस्तक पढ्ने पाठकबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ भने बजारमा यसको माग समेत बढिरहेको छ। ‘अन्तिम सत्य’ शीर्षकमा प्रस्तुत पुस्तकमा एक ब्रह्माण्डको सिद्धान्त, सृष्टिको क्रमिक विकासक्रम, आकाशीय पिण्डहरूको रोटेसन र हेलिकल पाथ, मन, सपना, श्वास, ध्यान, साधना र समाधिसम्मका विषयमा विस्तृत चर्चा गरिएको छ।
लेखक जोशीका अनुसार यो कृति उनको अध्ययन, अनुभव, अभ्यास र जागरणसहितको चिन्तन–कर्मको परिणाम हो। “मन, आत्मा र शरीरको खोज हुँदै ब्रह्माण्डसम्म पुग्ने यात्रालाई पुस्तकमा प्रस्तुत गरेको छु। गतिशील भौतिकवाद आफैंमा अन्तिम सत्यको खोज हो,” उनले बताएका छन्।
सरल तर प्रभावकारी भाषाशैलीमा गम्भीर र गहिरा विषयवस्तु समेटिएको यो पुस्तक १७२ पृष्ठको छ। यसको मूल्य ६५० रुपैयाँ तोकिएको छ। पुस्तक विभिन्न पुस्तक पसलका साथै अनलाइनमार्फत समेत खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |