

काठमाडौँ : पहिलो पार्टी नेपालले २०७२ सालको नाकाबन्दीलाई ‘कालो दिन’का रूपमा स्मरण गर्दै नेपाललाई आत्मनिर्भर र स्वाभिमानी बनाउनुपर्नेमा जोड दिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट ११औँ स्मरण सभा आयोजना गर्न अनुमति नपाएपछि पार्टीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त धारणा सार्वजनिक गरेको हो ।
विज्ञप्तिमा २०७२ असोज ७ गतेदेखि भोग्नुपरेको गम्भीर आपूर्ति संकटलाई स्मरण गराउँदै पेट्रोलियम, खाद्यान्न तथा औषधि जस्ता अत्यावश्यक सामग्रीमा कुनै एक देशमाथिको अत्यधिक निर्भरता अन्त्य गर्नुपर्ने उल्लेख गरिएको छ । पार्टीका संयोजक गोविन्द बोहरा ‘ब्रह्माण्ड’ द्वारा जारी विज्ञप्तिमा भारतसँगको ऐतिहासिक तथा जनस्तरीय सम्बन्धलाई सम्मान गर्दै समानता, पारस्परिक लाभ र सम्मानका आधारमा कूटनीतिक संवाद हुनुपर्ने बताइएको छ ।
साथै, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूभाग भएको दोहोर्याउँदै ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा सीमा समस्या समाधान हुनुपर्ने जोड दिइएको छ । विज्ञप्तिमा कुनै देशप्रति घृणा नभई नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षाका लागि देशलाई ऊर्जा, खाद्यान्न र इन्धनमा आत्मनिर्भर बनाउने संकल्प गरिएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |