काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गरेका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै उनले राप्रपाको हालको नेतृत्व, गुटबन्दी, भागबन्डा र हैकमवादी प्रवृत्तिबाट निराश भई यो निर्णयमा पुगेको बताए । कार्कीले अध्यक्षले विमति राख्ने कार्यकर्तालाई हटाएर चाकडी गर्नेलाई संरक्षण दिएको, पार्टी विधि विधानविहीन र स्वेच्छाचारी ढंगले सञ्चालन भएको आरोप लगाए। उनले राप्रपामा विचारभन्दा पद, भागबन्डा र सेटिङलाई प्राथमिकता दिइएको भन्दै आक्रोश पोखेका छन्।
पुराना र समर्पित कार्यकर्तालाई पाखा लगाएर अयोग्यलाई जिम्मेवारी दिइनु र लगातार चुनाव चिह्न परिवर्तन हुनुले निराशा थपेको उनको भनाइ छ। कार्कीले पार्टीको साधारण सदस्यता समेत त्यागेको र अब कुनै दलमा आबद्ध नभई स्वतन्त्र रूपमा राष्ट्रसेवामा लाग्ने घोषणा गरेका छन्।