


काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौंडेलले होटल व्यवसायलाई उद्योगसरह सुविधा उपलब्ध गराउने विषयमा मन्त्रालयले आवश्यक पहल गरिरहेको बताएका छन्। जिल्ला होटल व्यवसायी संघ काठमाडौँले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री पौंडेलले पर्यटन क्षेत्रलाई व्यवस्थित, व्यवसायमैत्री र प्रतिस्पर्धी बनाउन सरकार सकारात्मक रहेको स्पष्ट पारे।
ूअहिले हामी व्यवसायीलाई नीति लाद्ने होइन, उहाँहरूका समस्या सुन्ने र समाधान खोज्ने पक्षमा छौँ,ू मन्त्री पौंडेलले भने। उनले होटल क्षेत्रमा सहुलियतपूर्ण कर्जा, मन्त्रालयबाट उपलब्ध गराइने अनुदान तथा विद्युत्मा लगाइएको कर हटाउने विषयमा सम्बद्ध निकायहरूसँग छलफल भइरहेको जानकारी दिए। साथै, उनले होटलहरूलाई पर्यटन विभागमा अनिवार्य दर्ता भई सरकारी मापदण्डको पालना गर्न आग्रह समेत गरे।
संघले मन्त्री पौंडेललाई ४ बुँदे मागपत्र बुझाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ुछापामार शैलीुमा गरिरहेको अनुगमनले व्यवसायी त्रसित बनेको ध्यानाकर्षण गराएको छ। संघका सचिवालय सदस्य खेमराज उप्रेतीले होटल वस्तु बिक्री गर्ने थलो नभई सेवा उद्योग भएकाले अनुगमनको शैली सच्याउनुपर्ने बताए।
यस्तै, संघका अध्यक्ष सुरेश बरालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरियो नम्बर प्लेटका ट्याक्सीबाट पर्यटक ठगिने गरेको, स्थलमार्गबाट आउने भारतीय पर्यटकका बसमा तत्कालै ुह्वील लकु गरिने जस्ता अव्यवस्थाले नेपालको छविमा असर परेको बताए। संघले होटल व्यवसायमा एमआरपी ९ःच्ए० लागू नगर्न, विमानस्थलको ट्याक्सी व्यवस्थापन सुधार गर्न, साना होटलको वातावरणीय प्रक्रिया सरल बनाउन र सञ्चालन समय कम्तीमा राति १२ बजेसम्म कायम गर्न माग गरेको छ।
ध्यानाकर्षण पत्र बुझाउन संघका अध्यक्ष बरालसहित उपाध्यक्षहरू मनोहरी कँडेल, जितेन्द्र गिरी, कुमार श्रेष्ठ, कार्यवाहक महासचिव शिवलाल गिरी, सचिवालय सदस्य खेमराज उप्रेती लगायतको टोली मन्त्रालय पुगेको थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |