काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् र म्हः पूजाले नेपाली समाजमा आपसी सद्भाव, आत्मीयता र सांस्कृतिक एकताको भावना बलियो बनाउने बताएका छन्।
नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै थापाले नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरेका छन्।
उनले नेपाल संवत्लाई नेपालको मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीकका रूपमा व्याख्या गरेका छन्।
‘नेपाल संवत्ले लोककल्याणकारी र परोपकारको प्रेरणादायी विरासत बोकेको छ। यस अवसरले नेपालीबीचको आपसी सद्भाव, आत्मीयता र एकतालाई अझ प्रगाढ बनाउने अपेक्षा छ,’ थापाको सन्देशमा उल्लेख छ।
त्यस्तै, म्हः पूजाको अवसरमा उनले सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र आत्मविश्वासको कामना गरेका छन्। सांस्कृतिक विविधता र एकताको भावनालाई थप बलियो बनाउन नयाँ वर्षले प्रेरणा दिने उनको विश्वास छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |