काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७, म्हः पूजा तथा गोवर्द्धन पूजाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले नेपाल संवत् राष्ट्रिय विभूति शङ्खधर साख्वाःले जनतालाई ऋणमुक्त गरी सुरु गराएको मौलिक समयचक्र र राष्ट्रिय पहिचान भएको बताएका छन्।
उनले म्हः पूजालाई आफ्नै शरीरभित्रको चेतनालाई साक्षी राखेर अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा गरिने आत्मपूजाको विशिष्ट परम्पराका रूपमा व्याख्या गर्दै यसले आपसी सद्भाव र जातीय एकतालाई प्रगाढ बनाउने बताएका छन्।
त्यस्तै, गोवर्द्धन पर्वत, कृषिकर्मका सहयात्री गोरु तथा कृषि औजारको पूजा गर्ने परम्पराले सामाजिक सहिष्णुता र आत्मीयता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले यस्ता मौलिक सांस्कृतिक अभ्यासले आपसी रिसराग बिर्सेर सामाजिक सद्भाव, एकता र सहअस्तित्व कायम गर्न प्रेरणा दिने बताएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |