काठमाडौं : नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान मिस्बाह–उल–हकको सम्मानमा आइतबार साँझ काठमाडौंमा रात्रिभोजको आयोजना गरेका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न मिस्बाह हाल नेपालमा छन् । रात्रिभोजका अवसरमा राजदूत खानले खेलकुद, विशेषगरी क्रिकेटले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्ध र मित्रतालाई अझ प्रगाढ बनाउँदै लगेको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय क्रिकेटमा सफल कप्तानको छवि बनाएका मिस्बाहको नेतृत्वमा पाकिस्तानले सन् २०१२ को एसिया कपको उपाधि जितेको थियो । उनकै कप्तानीमा सन् २०१६ मा पाकिस्तानी टोली आईसीसी टेस्ट वरीयताको शीर्ष स्थानमा समेत उक्लिएको थियो ।
पाकिस्तानी दूतावासले क्रिकेटप्रतिको साझा लगावले दुई देशबीचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |