जनकपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी घोषणापत्र र नारामा समेटिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्ने समय आएको बताएका छन्। सोमबार जनकपुरधाममा सांसद डा. अमरेशकुमार सिंहको मेची-महाकाली पदयात्राका लागि झण्डा हस्तान्तरण गर्दै उनले जनताको मतलाई जिम्मेवारीका रूपमा लिएर मधेशसहित देशभरका समस्या समाधान गर्न नीतिगत काम अघि बढाइने बताएका हुन् ।
नयाँ कानून निर्माण, विद्यमान कानूनको सुधार तथा नागरिकका हकअधिकार सुनिश्चित गर्नु पार्टीको प्रमुख कार्यभार रहेको लामिछानेको भनाइ छ। घोषणापत्रका वाचा पूरा गर्नु मुख्य चुनौती भए पनि काम गर्ने क्रममा कमजोरी भए सच्याउँदै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।
उनले संघीयताभित्र प्रदेश संरचनालाई स्थिर र प्रभावकारी बनाउँदै जनताको जीविकासँग जोड्न राष्ट्रिय बहस आवश्यक रहेको औँल्याए। यस विषयमा हुने बहसलाई गलत अर्थमा नबुझ्न आग्रह गर्दै लामिछानेले सबै राजनीतिक दलसँग संवाद र सहकार्यका आधारमा संघीय संरचना सुधारको बहस चाँडै अघि बढाइने बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |