काठमाडौँ : विपद् व्यवस्थापन, आर्थिक सहकार्य र दुई सत्तारुढ दलबीचको सम्बन्ध विस्तारलाई मुख्य एजेन्डा बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने औपचारिक भ्रमणका लागि आइतबार चीन प्रस्थान गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै टोली नेता एवं रास्वपा महामन्त्री विपिनकुमार आचार्यले भ्रमण मुख्यतः तीन विषयमा केन्द्रित रहने जानकारी दिए ।
उनका अनुसार भूकम्प, बाढीपहिरो र हिमाली विपद्को उच्च जोखिममा रहेको नेपालका लागि चीनले उद्धार, राहत तथा विपद्पछिको पुनःस्थापनामा अपनाएका सफल अभ्यासको अध्ययन गर्नु भ्रमणको प्रमुख प्राथमिकता हो ।
यसैगरी, उदाउँदो विश्व आर्थिक शक्ति चीनसँग व्यापार र लगानीका सम्भावना खोज्दै नेपालले लिन सक्ने आर्थिक लाभबारे छलफल गरिनेछ । सीपीसीसँगको राजनीतिक अनुभव आदानप्रदानसँगै भविष्यमा हुने प्रधानमन्त्री वा पार्टी सभापतिको उच्चस्तरीय चीन भ्रमणका लागि ठोस आधार तयार पार्ने उद्देश्यसमेत प्रतिनिधिमण्डलको रहेको आचार्यले बताए ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |