काभ्रे : पाँचखाल नगरपालिका–८ होक्सेमा निर्माणाधीन अस्फाल्ट ब्याच मिक्स प्लान्टबारे निर्माण कम्पनीले ‘धुवा होइन, बाफ मात्रै निस्किन्छ’ भन्दै प्रदूषणको आशंका नपाल्न आग्रह गरेको छ।
बुधबार धुलिखेलमा पत्रकार सम्मेलन गर्दै बन्दन भगवती निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक रामजी पन्त ‘मुकेश’ले स्विस प्रविधियुक्त अम्मान कम्पनीको प्लान्टले यूरोपेली मापदण्ड अनुसार प्रदूषण नगर्ने दाबी गरे। उनका अनुसार २५४ वर्गमिटरमा फैलिएका १ सय ६८ फिल्टर, ब्लु स्मोक ट्रीटमेन्ट र उच्चस्तरीय फिल्ट्रेसन प्रणालीले धुलो, धुवा नियन्त्रण गर्छ।
सूर्यविनायक–साँगा–धुलिखेल सडक लगायत आयोजना छिट्टै सम्पन्न गर्ने लक्ष्यसहित ३० रोपनीमा स्थापना हुने प्लान्टबाट करिब १ सयलाई रोजगारी दिने कम्पनीको योजना छ। काम सकिएपछि प्लान्ट अन्यत्र सारिने र स्थानीय संरचना वा वनजंगलमा असर नपर्ने मुकेशले स्पष्ट पारे।