


भगवती मानव कल्याण संगठनले सप्तरीको विभिन्न पालिकाहरुमा विपन्न लक्षित न्यानो कपडा वितरण गरेको छ ।
सप्तकोशी नगरपालिका, तिरहुत गाउँपालिका, हनुमान नगर कंकालिनी नगरपालिका, कञ्चनरुप नगरपालिका लगायतका पालिकाका विभिन्न वडामा संगठनले न्यानो कपडा वितरण गरेको हो । संगठनले न्यानो कपडा वितरण गर्ने क्रममा जेन्जी समूहसँग सहकार्य गरेको थियो । संगठनले गाउँ गाउँ गएर अपांग, असहाय, वृद्ध, बालबालिका, अति विपन्न आदीको तथ्यांक संकलन गरेको थियो । सप्तकोशी नदी आसपासका पालिकाहरुमा सितलहरले पारेको अत्याधिक प्रभावलाई दृष्टिगत गर्दै न्यानो कपडा वितरण गरिएको संगठनकी टिम प्रमुख कमला ओलीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै जेन्जीका अगुवा सुयोग ढुंगानाले यस्ता सामाजिक कार्यले लक्षित वर्गमा खुशी र राहत प्रदान गर्ने बताउनुभयो ।
संगठनले केही अति प्रभावित विद्यालय श्री राष्ट्रिय आधारभूत विद्यालय कोरियानी हनुमाननगरका सबै विद्यार्थीलाई कपडा, कापी, पेन्सिल र श्री जनकल्याण राष्ट्रिय प्राथमिक विद्यालय धनपुरीका उपस्थित सम्पूर्ण विद्यार्थीहरुलाई कपडा वितरण गरेको थियो । विद्यालयहरुले कार्यक्रमलाइ निरन्तरता दिन आग्रह गरेका छन ।

संगठनका पदाधिकारीहरुले भने कपडा प्राप्त गरेपछि सहभागिको हाँसो र खुशी देखेर भविष्यमा कार्यक्रमलाइ थप प्रभावकारी रुपमा अघि बढाउन प्रेरित गरेको बताएका छन्।
अन्य विद्यालयहरुमा अध्ययनरत छनौट गरिएका विपन्न विद्यार्थीहरुलाई भने घर-घर पुगेर कपडा वितरण गरिएको थियो । भगवती मानव कल्याण संगठनले नेपालमा विगत डेढ दशकदेखि एक बृक्ष राष्ट्रको नाममा, नशामुक्त नेपाल-समृद्ध नेपाल, योग-ध्यान-प्रणायाम, युवा जागरण, शक्ति साधना जस्ता विविध कार्यक्रम गर्दैआएको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |