बैतडी : सरकारी सेवाबाट अवकाशप्राप्त वरिष्ठ इन्जिनियर रणबहादुर बमले बैतडीको पुर्चौडी क्षेत्र प्राकृतिक स्रोत र सम्भावनाले भरिपूर्ण भए पनि राज्यको ध्यान नपुग्दा पछाडि परेको बताएका छन्। पिटिओ खबरसँग कुराकानी गर्दै उनले पुर्चौडीमा उपलब्ध काठ, बहुमूल्य पत्थर, फलाम खानी तथा जडीबुटीजन्य अल्लो र भाङ्गोको व्यवस्थित बजारीकरण गर्न सके हजारौँ युवालाई स्वदेशमै रोजगारी दिन सकिने बताएका हुन् । पुर्चौडीको विकास र सम्भावनाका बारेमा कुरा गर्दै इन्जिनियर बमले स्थानीय तह र राज्यले पूर्वाधार निर्माणमा ध्यान दिए पुर्चौडी आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने बताए।
पुर्चौडीमा मनग्गे काठ र बहुमूल्य ‘स्लेट’ पत्थर (धोलकडा पत्थर) को प्रचुर सम्भावना रहेको उनले औँल्याए। बाजे बराजुको पालादेखि घर छाउन प्रयोग हुँदै आएको यो पत्थरलाई आधुनिक मेसिनमार्फत ड्रेसिङ र प्याकिङ गरी राष्ट्रिय बजारमा पुर्याउन सके ठूलो आर्थिक लाभ लिन सकिने उनको तर्क छ। ‘एउटा पत्थर बेचेर पनि यहाँका मानिस लखपति बन्न सक्छन्, तर त्यसका लागि सडक सञ्जाल, बिजुली र पत्थर काट्ने कटरजस्ता आधारभूत पूर्वाधार अनिवार्य छ’,- बमले भने।
ढुङ्गा र काठ मात्र नभई पुर्चौडीमा फलाम खानीसमेत रहेको उनले बताए। धौनाली क्षेत्रमा गरिएको प्रारम्भिक अध्ययनले फलामको धाउ प्रशस्तै रहेको देखाएको भन्दै यसको व्यवस्थित उत्खनन गर्न सके स्थानीयको प्रतिव्यक्ति आयमा भारी वृद्धि हुने उनको विश्वास छ। यसका साथै पहाडी क्षेत्रमा हुने अल्लो र भाङ्गो खेतीलाई कानुनी दायरामा ल्याएर प्रशोधन गर्न सके स्कुलका ब्याग तथा विभिन्न फेन्सी घरायसी सामग्रीहरू गाउँमै उत्पादन गर्न सकिने सम्भावना रहेको उनले बताए। यसले भारत वा खाडी मुलुकमा भौतारिन बाध्य बेरोजगार युवाहरूलाई आफ्नै गाउँमा रोक्ने उनको भनाइ छ।
अहिलेका स्थानीय तहका नेतृत्वले विकासका यी सम्भावनाहरूप्रति गम्भीरता नदेखाएको गुनासो गर्दै उनले आफूले सेवामा रहँदा पनि पटक(पटक सल्लाह र सुझाव दिएको बताए। ३५ -३६ वर्ष लामो इन्जिनियरिङ सेवा र राष्ट्रिय गौरवका आयोजनाहरूमा काम गरेको अनुभव संगालेका बमले अवकासपछिको जीवन समाज सेवामै समर्पित गर्ने इच्छा व्यक्त गरे। शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य क्षेत्रको लाचारीपन ९सिटामोल पनि नपाउने अवस्था० र नागरिकले पाउने सास्ती अन्त्य गर्नका लागि पार्टीले जिम्मेवारी दिए आफू नेतृत्व लिन तयार रहेको उनले स्पष्ट पारे।
पुर्चौडीका युवा र समग्र समाजलाई सन्देश दिँदै इन्जिनियर बमले अब पछाडि फर्केर नभई एकजुट भएर सक्षम र भिजन भएको नेतृत्व छान्नुपर्ने बताए। बालेन्द्र शाह नेतृत्वको सरकारप्रति आफूलाई पूर्ण विश्वास रहेको बताउँदै उनले छोटो समयमै देशमा सुशासन र विकासको आभास हुन थालेको र आगामी दिनमा यसको परिणाम सबैले महसुस गर्ने धारणा राखे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |