काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले समेटिएका हुन्।
नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न क्षति र जलवायु न्यायको पक्षमा अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त आवाज उठाएकाले वाग्लेलाई उक्त सूचीमा समावेश गरिएको टाइमले जनाएको छ।
गत अगस्टमा आएको विनाशकारी बाढीपछि उनले जलवायु परिवर्तनमा विकासशील मुलुकको योगदान न्यून भए पनि त्यसबाट ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएका थिए। नेपालले जलवायुजन्य क्षतिको क्षतिपूर्तिका लागि चीन, अमेरिका र भारतसँग कूटनीतिक पहलसमेत गरेको थियो।
वाग्लेकै पहलपछि संयुक्त राष्ट्रसंघले गत अक्टोबर २२ मा नेपालका लागि नोक्सानी तथा क्षति कोषबाट २१.६ मिलियन अमेरिकी डलर सहायता प्रारम्भिक रूपमा स्वीकृत गरेको थियो।
वाग्लेको सूचीमा समावेशले नेपालको जलवायु जोखिम, जलवायु न्याय र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको मुद्दालाई विश्वव्यापी रूपमा थप चर्चा दिलाएको छ।
उक्त सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र बेलायती राजकुमार विलियम पनि समेटिएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |