काठमाडौं : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत लिन आवश्यक बहुमत जुटाउन थप ३२ सांसदको समर्थन खोज्नुपर्ने भएको छ। नेपाली कांग्रेसका २२ सांसद मात्रै रहेको अवस्थामा सरकारलाई समर्थन गर्दै आएका नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले साथ छाडेपछि यादव अल्पमतमा परेका हुन्।
मुख्यमन्त्री यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि सभामुख रामअशिष यादवले शनिबार प्रदेशसभा बैठक आह्वान गरेका छन्।
सभामुखका अनुसार बैठकको कार्यसूची निर्धारण गर्न आजै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। उक्त बैठकले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावलाई कार्यसूचीमा समावेश गर्नेछ।
एक सय सात सदस्यीय मधेस प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। यस्तै, संघीय समाजवादी पार्टी र राप्रपाका एक-एक सांसद छन्।
बहुमत जुटाउने प्रयासमा मुख्यमन्त्री यादव विभिन्न दलका नेताहरूसँग छलफलमा छन्। उनले मतदान हुनुअघिसम्म सहमतिको प्रयास जारी रहने बताएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |