काठमाडौं : देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुने र केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भेगमा पनि छिटपुट हिमपात हुन सक्नेछ।
तराईका जिल्लामा भने मौसम सामान्यतया सफा रहनेछ। पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भए पनि अन्य अधिकांश स्थानको मौसम सफा रहने महाशाखाले जनाएको छ।
आज राति पनि हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईमा भने मौसम सफा रहने पूर्वानुमान छ। पछिल्लो समय चिसो बढ्दै गएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |