काठमाडौं : नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा आज हुने दुई खेलले प्लेअफ समीकरणलाई थप रोचक बनाउने भएको छ। पहिलो खेलमा अंकतालिकाका दोस्रो र तेस्रो स्थानमा रहेका काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा दुवै टोली जित निकाल्दै शीर्ष स्थानतर्फ अघि बढ्न चाहन्छन्। पाँच खेलमा चार जितसहित ८ अंक जोडेको काठमाडौं दोस्रो स्थानमा छ। समान ८ अंक भए पनि ६ खेल खेलेको सुदूरपश्चिम तेस्रो स्थानमा छ।
यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर र चितवन आमनेसामने हुनेछन्। पाँच खेलबाट पाँच अंक जोडेको चितवनलाई प्लेअफ सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ। चार अंकसहित रहेको जनकपुरलाई पनि प्लेअफ दौडमा टिकिरहन जित आवश्यक छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |