जनकपुरधाम : सूर्य उपासनाको महापर्व छठअन्तर्गत आज मिथिलाञ्चलमा ‘खरना’ विधि गरिँदै छ। चार दिनसम्म मनाइने यस पर्वको दोस्रो दिन बर्तालु दिनभर निराहार उपवास बसेर साँझ चन्द्रदर्शनपछि खरना विधि सम्पन्न गर्ने तयारीमा छन्।
यसअघि शुक्रबार पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि गर्दै बर्तालुले व्रतको सङ्कल्प गरेका थिए। खरनाका दिन नयाँ माटोको चुलो र भाँडामा सख्खर, दूध तथा चामलबाट खीर पकाएर कुलदेवता र छठी मातालाई अर्पण गर्ने परम्परा छ। त्यसपछि उक्त खीर प्रसादका रूपमा बर्तालु तथा परिवारका सदस्यले ग्रहण गर्छन्।
छठ पर्वको तेस्रो दिन अर्थात् षष्ठीमा बर्तालुले जलाशय तथा नदी किनारमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्। मिथिलामा यसलाई ‘सझुका अरख’ भनिन्छ। चौथो दिन सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुनेछ।
ठकुवा, भुसुवालगायत परम्परागत परिकार छठका मुख्य प्रसाद हुन्। पछिल्लो समय मधेशी समुदायमा सीमित नरही पहाडी समुदायका हिन्दूले समेत उत्साहपूर्वक छठ मनाउन थालेका छन्। विभिन्न धर्म र समुदायको सहभागिताले छठलाई साझा सांस्कृतिक पर्वका रूपमा स्थापित गर्दै लगेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |