काठमाडौं : विजयादशमीको सातौँ दिन आज देशभर फूलपाती घरघरमा भित्र्याएर पूजाआजा गरिएको छ। घटस्थापनादेखि पूजामा आह्वान गरिएको दुर्गाभवानीलाई नवपत्रिका उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोक फूलसहितका पालुवा भित्र्याई शक्तिको आराधना गर्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार फूलपाती भित्र्याउन साइतको आवश्यकता छैन। नवपत्रिका नौ देवीको प्रतीकका रूपमा पूजिने गरिन्छ।
गोरखाबाट हनुमानढोका दरबारसम्म फूलपाती ल्याउने ऐतिहासिक चलन अझै प्रचलनमै छ। गोरखादेखि जीवनपुरसम्म मगर समुदाय, अनि जीवनपुरदेखि जमलसम्म ब्राह्मण समुदायले फूलपाती ल्याउने गर्छन्। जमलदेखि दरबारसम्म सेनाको ब्यान्डबाजा, पञ्चैबाजा, सांस्कृतिक झाँकी र उच्चपदस्थ अधिकारीसहितको लावालस्कर सहभागी हुन्छ।
यसै दिनदेखि दशैंको चहलपहल बढ्ने, सरकारी कार्यालयमा बिदा सुरु हुने र गाउँघरमा लिङ्गे तथा रोटे पिङ हालिने परम्परा छ।