


काठमाडौँ : साउनको अन्तिम सोमबारका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउनका सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाले आज विधिपूर्वक व्रत समापन गर्दैछन् ।
अन्य सोमबार व्रत बस्न नपाए पनि अन्तिम सोमबार व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । बोलबम तीर्थालुसमेत विभिन्न शिवालयमा पुगेका छन् । सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउनेहरूको भीडसमेत बढेको छ ।
पशुपतिनाथ, डोलेश्वर, कुम्भेश्वर, हलेसी, पिण्डेश्वर, गलेश्वर, धारपानी तथा देवघाटधामलगायतका शिवालयमा भक्तजनको घुइँचो छ ।
यसपटक साउनको अन्तिम सोमबार त्रयोदशी तिथिसमेत परेकाले सोमप्रदोष व्रतको संयोग परेको धर्मशास्त्रका जानकारहरूले बताएका छन् । प्रदोषकालमा शिवपूजा, दीप प्रज्वलन तथा बेलपत्र, दूध, दही र घ्युसहित पूजा गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |