


काठमाडौँ : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा दुग्ध व्यवसाय प्रवर्द्धनका नाममा आएको रु १ करोड ७१ लाखभन्दा बढी सरकारी अनुदान दुरुपयोग भएको खुलासा भएको छ।
अयोग्य सहकारीलाई गैरकानुनी रूपमा चिस्यान केन्द्र र गाडी खरिदका लागि रकम उपलब्ध गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख, कर्मचारी र सहकारीका पदाधिकारीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७६/०७७ मा कार्यविधि उल्लङ्घन गरी ९१ लाख १७ हजार ८७३ रुपैयाँ चिस्यान केन्द्रका लागि र ८० लाख २३ हजार ५१ रुपैयाँ गाडी खरिदका लागि निकासा गरिएको अख्तियारले जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आठबीसकोटका नगरप्रमुख रवी केसी र प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहविरुद्ध जनही ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो कायम गरी अभियोजन गरिएको छ।
यस्तै, पशु सेवा र कृषि कार्यालयका तत्कालीनसहित पाँच कर्मचारीविरुद्ध ९१ लाख १७ हजार ८७३ रुपैयाँ बिगो र झुट्टा प्रतिवेदन तयार पारेको कसुरमा मुद्दा चलाइएको छ। आठबीसकोट दुग्ध सहकारीका अध्यक्ष जनक बटालासहित चार पदाधिकारीलाई भने मतियारको हैसियतमा मुख्य कसुरदारसरह बिगो र जरिवाना असुलको मागदाबी गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |