गाजा : गाजाको अल–शिफा अस्पताल नजिक इजरायली आक्रमणमा अल जजिराका चार पत्रकार मारिएका छन्।
अल जजिराका अनुसार संवाददाता अनस अल-शरीफ र मोहम्मद कुरैकेह तथा क्यामेराम्यान इब्राहिम जाहर र मोहम्मद नउफल अस्पतालको मुख्य गेटमा पत्रकारका लागि बनाइएको टेन्टमा रहेका बेला आक्रमण भएको हो।
आक्रमणपछि इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले अल–शरीफलाई हमासको “आतङ्कवादी सेल” प्रमुख भएको दाबी गर्दै लक्ष्य बनाइएको स्वीकार गरे पनि अन्य पत्रकारको उल्लेख गरेन। अल जजिराले उनी मान्यता प्राप्त पत्रकार भएको र गाजाबाट समाचार दिने “एक मात्र आवाज” भएको जनाएको छ।
पत्रकार संरक्षण समिति (सीपीजे)का अनुसार, गत अक्टोबरदेखि गाजामा इजरायली सैन्य कारबाही सुरु भएयता १८६ पत्रकार मारिएका छन्। अल जजिराले यसलाई गाजाबाट समाचार प्रसारण रोक्ने प्रयासको रूपमा टिप्पणी गरेको छ।