

काठमाडौँ : कतारमा कार्यरत नेपाली श्रमिकहरूको हकहित, अधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर आवाज उठाउँदै आएका प्राध्यापक मोहम्मद रमजान अली मियाँ ‘एनएचआरएफ मानवीय सम्मान’बाट सम्मानित भएका छन् ।
विश्व मानवीय दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार तथा मानवीय महासंघ (एनएचआरएफ)ले मानवता, मानवअधिकार र सामाजिक सेवाको क्षेत्रमा मियाँले पुर्याएको निरन्तर योगदानको कदर गर्दै कदरपत्रसहित सम्मान गरेको हो ।
लामो समयदेखि मानवअधिकार तथा श्रमिक अधिकारका सवालमा सक्रिय मियाँले सम्मान ग्रहणपछि महासंघप्रति आभार व्यक्त गरेका छन् । प्राप्त सम्मानले आफूलाई सामाजिक सेवाका क्षेत्रमा थप जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्ने प्रेरणा मिलेको उनको भनाइ छ । विशेष गरी कतारमा पसिना बगाइरहेका नेपाली श्रमिकहरूको हक, सम्मान र न्यायको अभियानमा अझ दृढताका साथ लागिरहने मियाँले प्रतिबद्धता जनाएका छन् ।
‘मानवता, न्याय, समानता र सामाजिक सेवामा मैले पुर्याएको सानो योगदानको यो कदर हो,’ मियाँले भने, ‘यसले आगामी दिनमा श्रमिक वर्गका पक्षमा थप ऊर्जाका साथ काम गर्ने हौसला प्रदान गरेको छ ।’
यसअघि पनि मानवअधिकार र सामाजिक सेवाका विभिन्न विधामा सम्मानित भइसकेका मियाँले पछिल्लो सम्मानले आफ्नो अधिकारमुखी यात्रालाई थप उचाइ दिने विश्वास गरेका छन् ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |