


काठमाडौँ : कांग्रेस संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन्।
सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी विवादमा पुनरावलोकनका लागि निस्सा दिएपछि उत्साहित बनेको इतर पक्षले निर्धारित मितिमै भेला गर्ने जनाएको छ।
भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाले शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै सर्वोच्चको पछिल्लो आदेशले भेलाको कार्यदिशामा कुनै परिवर्तन नल्याउने बताए। बरु यसले पार्टी पंक्तिमा थप उत्साह पैदा गरेको उनको भनाइ थियो।
कोइरालाका अनुसार भेलामा १० देखि २० हजारसम्मको सहभागिता अपेक्षा गरिएको छ। उनले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकताबद्ध बनाउन भेला ‘कोसेढुंगा’ बन्ने दाबी गरे।
पूर्वसभापति देउवा साउन २६ गते स्वदेश फर्किएपछि भेलामा सहभागी हुने बताइएको छ। धरपकडको सम्भावना नरहेको उल्लेख गर्दै कोइरालाले त्यस्तो अवस्था आए कांग्रेसले कडा प्रतिवाद गर्ने चेतावनी दिए। उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादका आधारमा पार्टीलाई नयाँ जीवन दिन भेलामा सहभागी हुन कार्यकर्तालाई आह्वान गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |