

काठमाडौँ : पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा सिर्जित खाना पकाउने ग्यास (एलपीजी) को अभाव हटाउन उद्योगीहरू र साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) सक्रिय भएका छन्। नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी सिलिन्डर ल्याउन अनुमति दिएपछि व्यसायी ढुवानी सहज बनाउन जुटेका हुन् ।
उपत्यकाका खाली सिलिन्डरहरू ट्रकमा राखेर चितवन, मकवानपुर, परासीलगायत उपत्यका बाहिरका उद्योगमा पुर्याई ग्यास भरेर वैकल्पिक मार्गमार्फत काठमाडौँ ल्याउने काम भइरहेको छ। सामान्य समयमा उपत्यकामा दैनिक ४० हजार सिलिन्डर खपत हुने गरे पनि हाल माग बढेकाले उद्योगीहरूले दुई सिफ्टमा बोटलिङ गरिरहेका छन्।
यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले पनि धादिङस्थित आफ्नो प्लान्टमा बुलेट पुग्न नसकेपछि निजी क्षेत्रका मनोज र बाबा ग्याससँग सहकार्य गरी ‘एसटीसी’ सिलिन्डरमा बोटलिङ सुरु गरेको छ। पर्याप्त ग्यास आयात भइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै संघले सर्वसाधारणलाई आवश्यकताभन्दा बढी मौज्दात नगर्न आग्रह गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |