

तालढुंगा : खानीखोला–तालढुंगा सडकका लागि ३० करोड रुपैयाँ बजेट बिनियोजन भएको उदाहरण प्रस्तुत गर्दै खानीखोलाका स्थानीयले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउने प्रतिबद्धता जनाएका छन् । प्रदेशसभा सदस्य हुँदा विकास बजेट भित्र्याएको भन्दै उनीहरूले प्रतिनिधिसभा सदस्य उम्मेदवार गुणराज मुक्तानप्रति समर्थन व्यक्त गरेका हुन् ।
मतदाता भेटघाटका क्रममा खानीखोला पुगेका बाग्मती प्रदेशका पूर्वमन्त्री तथा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा, प्रतिनिधिसभा सदस्य उम्मेदवार मुक्तान र कांग्रेस क्षेत्रीय सभापति तथा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामासँगको भेटमा स्थानीयले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले विकासमा भूमिका खेलेको बताएका छन् ।
प्रदेशसभा क्षेत्र नं १ ९ख० बाट निर्वाचित पूर्वमन्त्री लामाको पहलमा खानीखोला जोड्ने खोपासी–तालढुंगा सडकका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री रहँदा लामाको कार्यकालमा खानीखोलासहित जिल्लाभर खानेपानी, सिँचाइ र पूर्वाधार विकासका लागि ३ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन भएको कांग्रेसले जनाएको छ ।
खानीखोलाका स्थानीय टिका थिङले लामो समयदेखि विकासका काम अघि बढेको भन्दै त्यसको निरन्तरताका लागि कांग्रेस उम्मेदवार मुक्तानलाई जिताउनुपर्ने बताए ।
२०३६ र २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका खानीखोला–३ का धनबहादुर घिसिङले कांग्रेसले विकासलाई प्राथमिकतामा राखेको र तीर्थ लामाले सो क्षेत्रमा भित्र्याएको बजेटबाट आफू प्रभावित भएको बताए ।
पूर्वमन्त्री लामाले डाँडापारी क्षेत्रलाई सहज पहुँचमा ल्याउन निरन्तर प्रयासरत रहेको बताए । प्रतिनिधिसभा सदस्य उम्मेदवार मुक्तानले बाग्मती प्रदेश नीति तथा योजना आयोगको सदस्यका रूपमा काभ्रेमा विकास र बजेट सुनिश्चित गर्न भूमिका खेलेको दाबी गर्दै निर्वाचित भए जनताको प्रतिनिधिका रूपमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए ।
कांग्रेस क्षेत्रीय सभापति तथा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विकास निर्माणका सवालमा कांग्रेस सधैं जनताको साथमा रहने बताए ।
