


काठमाडौँ : नेपाल एकीकरणको इतिहास कोट्याउँदा वीर गोर्खालीको साहस र खुकुरीको चर्चा सधैँ अग्रपङ्क्तिमा आउँछ। तर, त्यो लडाइँमा सिपाहीहरूलाई मानसिक र आध्यात्मिक रूपमा शक्तिशाली बनाउन एउटा खास नेपाली लोकबाजाको ठुलो भूमिका रहेको तथ्य उजागर भएको छ।
नेपाली लोकबाजा सङ्ग्रहालयका सञ्चालक रामप्रसाद कँडेलका अनुसार, एकीकरण कालमा सिपाहीहरूलाई रणभूमिमा पठाउनुअघि गोरखनाथ बाजा बजाएर शक्ति प्रदान गरिन्थ्यो। पिटिओ खबरसँगको कुराकानीमा कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको यस बाजाको पृष्ठभूमिबारे रोचक जानकारी साझा गरेका हुन्।
तत्कालीन समयमा गुरु गोरखनाथको गुफाका गुरुहरूले लडाइँमा जाने सिपाहीहरूको टाउकोमा यो बाजा बजाएर छुवाउने गर्दथे। यसरी बाजा छुवाएपछि सिपाहीहरूको दाहिने हात वा पाटोमा गुरु गोरखनाथ र देब्रे पाटोमा गोरखकालीको शक्ति प्राप्त हुने जनविश्वास रहेको कँडेलले बताए।
नेपालको एकीकरण गुरु गोरखनाथको आशीर्वादबाट भएको हो। द्रव्य शाह हुँदै पृथ्वीनारायण शाहको पालासम्म आइपुग्दा दक्षिणतर्फ इस्ट इन्डिया कम्पनीले भारतका राज्यहरू कब्जा गरिरहेको थियो, जुन भोलि नेपालका लागि पनि खतरा थियो,’इतिहासलाई स्मरण गर्दै कँडेलले भने, ‘त्यसपछि दिव्य दृष्टिले नेपाल एकीकरणको आवश्यकता महसुस गरियो। तर लडाइँमा जाने सिपाहीहरूका लागि खुकुरी मात्र पर्याप्त थिएन, उनीहरूलाई आन्तरिक शक्तिको खाँचो थियो’।
रणभूमिमा होमिनुअघि गुरुहरूले विशेष मन्त्रोच्चारणसहित गोरखनाथ बाजा बजाएर आशीर्वाद दिने गर्थे। यो विधिपछि सिपाहीहरूमा अभूतपूर्व दैवी शक्तिको सञ्चार हुने र उनीहरू ‘आयो गोरखकाली ‘ भन्दै वीरताका साथ शत्रुसामु जाइलाग्ने गरेको कँडेलको भनाइ छ। नेपाली लोकबाजा सङ्ग्रहालयमा सुरक्षित राखिएको यो बाजाले नेपालको गौरवशाली इतिहास र प्राचीन सैन्य मनोविज्ञानलाई जीवन्त रूपमा दर्शाउँछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |