काभ्रे : जेन जेड आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय बनेपालाई विभिन्न व्यक्ति र संस्थाले अत्यावश्यक सामग्री सहयोग गरेका छन्।
तोडफोड र आगजनीले क्षति पुगेको प्रहरी कार्यालय, व्यारेक र मेस सञ्चालनमा ल्याउन सहयोग स्वरूप कम्प्युटर, प्रिन्टरदेखि भान्साका सामग्री, सिरक–डस्ना, इन्टरनेट सेवा र खानेपानी धारासमेत प्रदान गरिएको हो। बनेपाका नृपेश बादे, रमेश शाही र महेश्वर थापा मगरले कार्यालयलाई कम्प्युटर र प्रिन्टर एक–एक सेट सहयोग गरेका छन्। काभ्रे माध्यमिक विद्यालय बनेपाले प्रेसर कुकर, ग्यास चुल्हो, कराई, डाडु, पन्यु, थाललगायतका भान्साका सामग्री उपलब्ध गराएको छ।
क्लासिक टेक बनेपाले कार्यालयलाई निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको शाखा प्रमुख निराजन रेग्मीले जानकारी दिए। त्यसैगरी, ग्लोबल टक्या प्रालिले ३०–३० थान सिरक, डस्ना र तन्ना सहयोग गरेको छ। रामशरण हुमागाईले बिजुली बत्ती, प्रकाश भोछिभोयाले खानेपानी धारा, र राजकिरण तथा टिका नारायणले प्राविधिक सहयोग गरेका छन्। काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य र यशकुमार रञ्जितले पनि विशेष सहयोग गरेका छन्।
यसअघि बेलर इन्टरनेशनल एकेडेमी, निष्ट स्कुल, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) काभ्रे लगायतका संघ–संस्थाले इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई विभिन्न सामग्री हस्तान्तरण गरिसकेका छन्।