


काठमाडौँ : सुनसरीको देवानगन्जमा दुई पक्षबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका नौ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। विराटनगरका विभिन्न अस्पतालमा उपचाररत उनीहरूमध्ये दुई जना भेन्टिलेटरमा छन् भने एक जनाको अवस्था पनि चिकित्सकले चिन्ताजनक बताएका छन्।
न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेका घाइतेमध्ये देवानगन्ज–३ का जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता तथा अमित यादवको अवस्था गम्भीर रहेको अस्पतालहरूले जनाएका छन्। जयप्रकाशको पेट, रवीन्द्रकुमारको तिघ्राको नसामा तथा अमितको हात र कोखामा गोली लागेको थियो। उनीहरूको शल्यक्रिया सम्पन्न भए पनि थप निगरानीमा उपचार भइरहेको छ।
अन्य घाइतेहरूको अवस्था भने खतरामुक्त रहेको अस्पतालहरूले बताएका छन्। उनीहरूमध्ये अधिकांशको शल्यक्रिया सम्पन्न भइसकेको छ भने एक जनाको शल्यक्रिया हुन बाँकी छ। घटनापछि जिल्लाका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट र व्यक्ति लक्षित आक्रमण भएका थिए। बुधबारदेखि सुरक्षा व्यवस्था कडा पारिएसँगै अवस्था क्रमशः सामान्य बन्दै गएको प्रहरीले जनाएको छ। घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |