काठमाडौं : नवरात्रको दोस्रो दिन मंगलबार नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका फरक–फरक स्वरूपको पूजा गर्ने परम्परा छ।
दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणी तपस्यामा लीन भएकी देवीका रूपमा चिनिन्छिन्। दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु धारण गरेकी ब्रह्मचारिणी शान्त, मग्न र तपस्विनी स्वरूपमा चित्रित गरिन्छिन्। आरोग्य, शान्ति र अध्यात्मिक उन्नतिका लागि भक्तजनले उनीको पूजा आराधना गर्ने गर्दछन्।
नवरात्रको अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने परम्परा पनि छ। दशैंघरमा जमरा राख्ने र शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने चलनअनुसार देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
काठमाडौं उपत्यकामा गुह्येश्वरी, संकटा, शोभाभगवती, मैतीदेवी र नक्साल भगवतीमा श्रद्धालुको भीड लागेको छ। उपत्यका बाहिर सिन्धुपाल्चोकको पाल्चोक भगवती, ललितपुरको बंगलामुखी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, बाँकेको बागेश्वरी र गोरखाको मनकामना मन्दिरमा पनि भक्तजनको बाक्लो उपस्थितिसहित विशेष पूजाआजा भइरहेको छ।