काठमाडौं : नेपालकै जेठो लोककल्याणकारी संस्था परोपकार संस्थाले आफ्नो ७९ औँ स्थापना दिवस मनाउँदै प्राध्यापक हरिप्रसाद पराजुली र समाजसेवी गोपालकृष्ण मानन्धरलाई सम्मान गरेको छ।
‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कंसाकार’ नामक पुस्तक लेखेका पराजुली र पुस्तक प्रकाशनमा सहयोग पुर्याएका मानन्धरलाई सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालले सम्मानपत्र प्रदान गर्नुभएको हो। कंसाकारकै जीवनीमा आधारित पुस्तकलाई कार्यक्रममा लोकार्पण गरिएको थियो।
हैजाको महामारी फैलिएको बेला स्वास्थ्य सेवा दिने उद्देश्यले कंसाकारले २००४ साल असोज १० गते परोपकार संस्था स्थापना गरेका थिए। संस्थाले अनाथ बालबालिकाका लागि अनाथालय, छात्रावास, निःशुल्क एम्बुलेन्स, परोपकार आदर्श माध्यमिक विद्यालय, प्रसूति गृह लगायतका सेवा सञ्चालन गर्दै आएको छ। यस्तै नेपालका ३२ जिल्लामा १३ वटा दान विभाग शाखा मार्फत दुर्गम जिल्लामा औषधि, स्वास्थ्यकर्मीको पारिश्रमिक र उपचार सामग्री उपलब्ध गराउँदै आएको छ।
नेपालमा पहिलो रक्तदाता कंसाकारले तत्कालीन अन्धविश्वासलाई तोड्दै रगतदान अभियानको सुरुवात गरेका थिए। उहाँले आफैं रगत दान गरेर गम्भीर बिरामीलाई जीवनदान दिएका थिए।
स्थापना दिवसको कार्यक्रममा हितकरवीरसिंह कंसाकार, समाजसेवी शरद शर्मा, लोककवि राजभाइ जकःमि, शिक्षासेवी माधुरी मानन्धर, डा। डम्बर बहादुर नेपाली, प्रा। पराजुली, समाजसेवी मानन्धर, शिक्षासेवी, पत्रकार लगायतको सहभागिता रहेको थियो।