


काठमाडौँ : पशुपति तथा गुह्येश्वरी क्षेत्रमा रहेका ऐतिहासिक तथा पौराणिक महत्त्वका ढुङ्गेधाराहरू सुक्दै गएका छन्। प्राचीन कालदेखि स्थानीयवासी तथा श्रद्धालुको सहजताका लागि निर्माण गरिएका यहाँका परम्परागत ढुङ्गेधारामा पानी आउन छाडेपछि सम्पदा संरक्षणमा ठूलो चुनौती थपिएको छ।
पशुपति सम्पदा संरक्षण समाजका अध्यक्ष सूर्य रेग्मीका अनुसार पशुपति परिसर र आसपासका क्षेत्रमा रहेका वरुण धारा, वनकाली मन्दिर नजिकैको धारा तथा किरियापुत्री भवन आसपासका ढुङ्गेधाराहरूमा अहिले पानी पूर्ण रूपमा सुकेको छ।
प्राचीन समयदेखि चल्दै आएका यी ढुङ्गेधाराहरूमा पानी नझर्नुको मुख्य कारण पानीका प्राकृतिक मुहान तथा स्रोतहरू अन्यत्र मोड़िनु हो, अध्यक्ष रेग्मीले भने,-‘सम्पदाका परम्परागत स्वरूप जोगाउन र मुहान नियन्त्रण रोक्न तत्काल ठोस कदम चाल्न आवश्यक छ’।
धाराहरूमा पुनः पानी फर्काउन र प्राकृतिक स्रोतको खोज अनुसन्धान गर्नका लागि सम्पदा अभियन्ताहरू सक्रिय भएका छन्। वर्षभरि कुन-कुन धाराबाट पानी पुनः सञ्चालन गर्न सकिन्छ वा सक्दैन भन्नेबारे अध्ययन सुरु गरिएको रेग्मीले जानकारी दिए।
स्थानीयवासी, काठमाडौँ महानगरपालिकाको सम्पदा विभाग तथा पशुपति क्षेत्र विकास कोषका नवप्रतिबद्ध पदाधिकारीहरूले यस विषयलाई गम्भीरतापूर्वक लिई सुकेका ढुङ्गेधाराहरूमा निरन्तर पानी ल्याउने वातावरण बनाउनुपर्ने माग अघि सारिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |