


काठमाडौँ : देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानकै आसपासमा अवस्थित छ।
आज दिउँसो र राति हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नुका साथै देशका धेरैजसो पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै, तराई क्षेत्रमा विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थान तथा बागमती, गण्डकी, कोशी र मधेश प्रदेशका केही स्थानमा मध्यम वर्षाको प्रक्षेपण गरिएको छ।
रातिको समयमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई दुवै भूभागका एक(दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम बुलेटिनमा उल्लेख छ। महाशाखाले वर्षा र हिमपातका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |