

काठमाडौँ : पार्टीको निर्णय र निर्देशन विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन जना प्रदेश सभा सदस्यहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सांसद पदबाटै बर्खास्त गर्ने तयारी गरेको छ।
केन्द्रीय अनुशासन समितिको सिफारिसमा अध्यक्ष राजेन्द्र लिङदेनले उनीहरूमाथि कारबाहीको अन्तिम तयारी गरेका हुन्। यसअघि नै राप्रपाले बागमती संसदीय दलका नेता उद्धव थापाको पार्टी सदस्यता निलम्बन गर्दै संसद्बाट पदमुक्त गर्न सिफारिस गरिसकेको छ।
अनुशासन समितिले मन्त्री बनेका प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङलाई दोस्रो पटक थप १२ घण्टे स्पष्टीकरण सोधेको थियो। फोन, म्यासेज, भाइबर र ह्वाट्सएपमार्फत पठाइएको स्पष्टीकरणको तोकिएको समयभित्र कुनै जवाफ नआएपछि पार्टीले कडा कदम चाल्न लागेको हो।
तीनै जनालाई मन्त्री र सांसद दुवै पदबाट हटाउन भोलि बागमती प्रदेशका सभामुख र निर्वाचन आयोगमा आधिकारिक पत्र पठाउन लागेको बताइएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |