


काठमाडौं : देशभर मनसुनी वायु सक्रिय रहँदा आइतबार बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहने र विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो र राति पनि पहाडी तथा हिमाली क्षेत्रमा वर्षा जारी रहने तथा तराईका केही स्थानमा समेत मेघगर्जनसहित वर्षा हुन सक्नेछ।
भारी वर्षाका कारण गेग्रान, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमले सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |