

काठमाडौं : रसुवाको भोटेकोशीबाट उर्लिएको विनासकारी बाढीले बगाउँदा हालसम्म कम्तीमा ७ सय ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाढीको तीव्र बहावले रसुवादेखि तल्लो तटीय क्षेत्रसम्म भयानक तबाही मच्चाउँदा विपद् व्यवस्थापन र उद्धारमा खटिएका २५ जना प्रहरी कर्मचारीसमेत अझै बेपत्ता छन्।
नेपाल प्रहरीको अद्यावधिक तथ्यांकअनुसार बाढी र पहिरोमा बगेकाहरूको शव नदी तटीय आठ जिल्लाका विभिन्न स्थानमा फेला परेको छ। सबैभन्दा बढी क्षति चितवन र नवलपुर क्षेत्रमा भएको छ, जहाँ क्रमशः २५९ र १८४ जनाको शव फेला परेको छ। यस्तै नवलपुर पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव भेटिएको छ।
बाढीका कारण प्रभावित बनेका २ हजार ६ सय ९२ जना घाइतेको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। जसमा नुवाकोटबाट मात्रै २ हजार २० र रसुवाबाट ६ सय ७६ जनाको उद्धार गरिएको छ। काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराइरहेका तथा डिस्चार्ज हुने घाइतेको संख्या १६० पुगेको छ।
घटनास्थलमा खोजी, उद्धार तथा राहत कार्यका लागि ७ हजार २ सय ९३ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। बेपत्ता प्रहरी र सर्वसाधारणको खोजी कार्य अझै जारी छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |