बनेपा : स्थानीय तहले आफ्नो विकासको बाटो तय गर्दा बजेट नै त्यसको मार्गदर्शक बन्छ। काभ्रेको मण्डनदेउपुर नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब १० करोडभन्दा बढीको बजेट ल्याएको छ, जसले स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
मंगलबार सम्पन्न नगरसभाको १७ औं अधिवेशनमा उपप्रमुख विष्णुमणि नेपालले प्रस्तुत गरेको यो बजेटमा पूँजीगत खर्चका लागि करिब ५० करोड र चालु खर्चका लागि करिब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ। शहरका दैनिक प्रशासनिक कामकाजका लागि मात्र २१ करोड रुपैयाँ छुट्याइएको छ भने वडास्तरमा सामाजिक, आर्थिक र पूर्वाधार विकासका लागि ६ करोडको कार्यक्रमहरू सञ्चालन गरिने योजना छ।
यो बजेटको ठूलो आकर्षण भनेको कृषिलाई दिएको विशेष प्राथमिकता हो। किसानहरूले उत्पादन गरेका कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न नगरपालिका संघ र प्रदेश सरकारसँग मिलेर गोदामघर, शीत भण्डार ९कोल्ड स्टोर० र विक्री केन्द्रहरू निर्माणमा जोड दिनेछ। यसका लागि दातृ निकाय र स्थानीय व्यवसायीहरूसँग सहकार्य गरी उत्पादन र बजार व्यवस्थापनलाई दिगो बनाउने नीति रहेको छ।
कृषि उत्पादन वृद्धिका लागि लागत साझेदारीमा कृषि चुन वितरण, तरकारी र फलफूलको बिउ उत्पादन गरी वितरण, र स्थानीय स्तरमा बिउ उत्पादनलाई प्राथमिकता दिने कार्यक्रमहरू राखिएका छन्। किसानहरूलाई बाली र पशु बीमा विस्तार गरी जोखिम न्यूनीकरण गर्ने पहलमा पनि बजेटले पर्याप्त रकम विनियोजन गरेको छ। कृषि बीमामा सहभागी किसानलाई प्रिमियम रकमको ५० प्रतिशत अनुदान दिने व्यवस्था यसले गरेको छ।
दूग्ध उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय किसानहरूले उत्पादन गरेको दुध र मोहीको प्रयोगलाई सबै सार्वजनिक कार्यक्रमहरूमा अनिवार्य बनाउने नीति समेत यसमा समेटिएको छ। विश्व खाद्य तथा कृषि संगठनसँगको सहकार्यमा नमुना कृषि ग्राम र होमस्टे कार्यक्रम निरन्तरता दिइनेछ भने बागमती प्रदेश र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा माटो परीक्षण तथा बाली रोग परीक्षण ल्याब स्थापना गरिने तयारी छ।
नगरप्रमुख टोकबहादुर वाइवाले स्थानीय सरकारको हैसियतले संरचनागत सुधार, कानूनी, प्रशासनिक कार्यमा सुधार ल्याउँदै सूचना प्रविधि प्रयोग गरेर सेवा प्रवाह पारदर्शी र प्रभावकारी बनाउन विशेष ध्यान दिइरहेको बताए। यसै क्रममा नगरका सबै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा विस्तार गरिने छ।
विकास र सुशासनका लागि अघि बढेको मण्डनदेउपुर नगरपालिकाले बजेटमार्फत स्थानीय जनताको जीवनस्तर सुधार्ने र दीगो विकासको बाटोमा उक्लने लक्ष्य राखेको छ। यस बजेटले कृषि, पूर्वाधार र सामाजिक विकासका विविध पक्षलाई समेटेर भविष्यलाई उज्यालो बनाउने आशा जगाएको छ।