काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मंगलबार साँझ विश्वासको मत पाएका छन्।
११० सदस्यीय प्रदेशसभामा उनका पक्षमा ६३ मत परेको हो। साउन २० गते नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँलाई विश्वासको मत लिने दिनमै कांग्रेसभित्रको असन्तुष्ट समूहका १४ सांसदका कारण चुनौती सामना गर्नुपरेको थियो। मंगलबार दिउँसो ४ बजेलाई तोकिएको मतदान असन्तुष्ट पक्षको बैठकका कारण पछि सरेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि असन्तुष्ट समूह एकमत भई हेटौँडा पुगेर बानियाँलाई समर्थन गर्ने निर्णय गरेपछि परिस्थिती सहज बनेको हो।
मतदानमा नेकपा एकीकृत समाजवादीका ४ र नेमकिपाका ३ सांसद तटस्थ बसे भने समाजवादीकै ३ जना अनुपस्थित रहे। प्रतिपक्षी माओवादी केन्द्रका २१, राप्रपाका १३, समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।