काठमाडौं : नेपाल-चीन सीमास्थित ल्हेन्दे खोलामा सोमबार राति आएको भीषण बाढीमा परेर कम्तीमा १८ जना बेपत्ता भएका छन्।
बेपत्तामध्ये तीन नेपाली प्रहरी र ६ जना चिनियाँ नागरिक रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । प्रहरीका अनुसार, घटनास्थलबाट हालसम्म भीषण बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार प्रयास तीव्र पारिएको छ।
बाढीले नेपाल–चीनको सिमानामा रहेको महत्वपूर्ण मितेरी पुल पूर्ण रूपमा बगाएको छ, जसका कारण दुई देशबीचको सिधा सडक सम्पर्क विच्छेद भएको छ। स्याफ्रुबेँसी-रसुवागढी सडक खण्डका विभिन्न भागमा क्षति पुग्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवागढी जलविद्युत् आयोजनाको १११ मेगावाट क्षमताको बाँधमा समेत क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार यार्डमा रहेका दर्जनौं मालवाहक सवारी साधन बगाएका छन्। सुरक्षाकर्मी र उद्धार टोलीले घटनास्थलमा स्थलगत मूल्यांकन गर्दै उद्धार कार्य जारी राखेको जनाएको छ।